FAQs Complain Problems

वार्ड नं ७

नेपालको सुदुर पूर्वी भाग प्रदेश नं.१ को सुन्दर एवम् रमणीय जिल्लाको रुपमा परिचत इलामको माई नगरपालिकाको पश्चिम दिशामा छुट्टै भुभाग र वस्तुस्थिति भएको साविक महमाई गा.वि.स.का ५, ६ र ७ नं. वडाहरु एकिकृत गरी वनाईएको ७ नं. वडा समूद्री सतहबाट १८० मिटर उचाईमा चुरे क्षेत्रमा अवस्थित छ । अधिकांश भु-भाग वनजङ्गलले ढकिएको यस वडाको पुर्वमा कञ्चन र निर्मल माई नदी रहेको छ भने पश्चिम, उत्तर र दक्षिणमा क्रमश: चुलाचुली गाउपालिका, माई नगरपालिकाकै ६ र ८ नं वडाहरु रहेका छन् ।

उष्ण मनसुनी हावापानी रहेको यस वडामा गर्मीमा ४० 0 C जाडोमा ५ 0 C सम्म तापक्रम रहने गर्दछ । वर्षाको समयमा २५०-३०० से मी सम्म पानी पर्ने गर्दछ । यस वडा चुरे पहाडमा पर्ने भएकोले यहाँको जमिनको माटो बालुवा, कङकड, ढुङ्गा र खुकुलो खस्रा पदार्थले वनेको छ भने माई नदी तथा खहरे खोलाको आसपासको जमिन खेतीयोग्य पांगो माटो पाईन्छ । वडाको अधिकांश भाग वनजङ्गल रहेको र उक्त वनजङ्गल ४ वटा समुदायिक वन ईकाइमा विभाजन गरी स्थानीय समूहद्वारा संरक्षणमा रहेको छ । उक्त वनमा बादर ,हरिण ,जरायो लोखर्के , स्याल , चरी बाघ, मयुर लगायत जङ्गली जनावारहरु रहेका छन् । त्यस्तै गरी साल, चिलाउने, कुम्भी,सिमल, बाँस ,सिरिसका रुखहरुका साथै अमला, हर्रो,वर्रो, कुरीलो जस्ता जडिवुटी जन्य वनस्पति पनि पाईन्छ ।

करिव २४.११ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको वडामा दर्जनौ खहरे खोलाखोल्सीहरु रहेका छन् । लक्ष्मी खोला कपरसुका खोला ठेवा खोला र तमाखे खोला यहाँका प्रमुख खहरे खोला हुन् । वर्षायामा यी खोलाहरुमा पानीको वहाव निकै ठुलो हुने गर्दछ भने हिउँदमा सुक्ने गर्दछ ।

७३५ घरधुरीमा  करिव ३२०३ जनसङ्ख्या रहेको यस वडामा मुख्य रुपमा लिम्बु, तामाङ्ग, राई, मगर, नेवार, कुमाल, ब्राह्मण, क्षेत्री र दलितको बसोबास गरेको छ । किरात, हिन्दु, बौद्ध र इसाई धर्मावलम्वीहरुको बसोबास रहेको यस वडामा आ-आफ्नै धर्म अनुसारको चाडपर्व जस्तै दशैतिहार, ल्होसार, उधौली उभौली, धान नाच, चण्डी नाच , बौद्ध जयन्ती , इद आदी पर्वहरु मनाइन्छ । यहाँ राई , लिम्बु, तामाङ्ग तथा कुमाल भाषा मातृभाषाको रुपमा घरगाउँमा बोल्ने गरिन्छ भने विद्यालय र सरकारी कामकाजको रुपमा नेपाली भाषा नै प्रयोगमा रहेको छ ।

नेपाल कृषी प्रदान मुलुक भएकोले यस वडा पनि उक्त पेशमा आश्रित नरहने कुरो भएन । अधिकाशं जनता कृषि पेशमा रहेको यहाँका मुख्य उत्पादनहरुमा खाद्यबालीहरुमा धान, मकै, कोदो, फापर, गहुँ, जौ आदी रहेको छ । त्यस्तै गरी तरकारी जन्य उत्पादनमा आलु, फर्सी, टमाटर, कोपी, रायो , करेला , धिरौला , लौका आदी दलहन/ तेलहन तोरी फिलुङ्गो तिल रहर राजमा मास रहेका छन् । यहाँ पाईने फलफुलहरुमा आँप, लिच्ची, केरा,कटहर, अम्वा आदी रहेका छन् । नगदे वालीको रुपमा अदुवा, अम्लिसो, सुपारी आदी खेती हुन्छ । पशुपालनको क्षेत्र भनेर चिनिने यस क्षेत्रमा पशुजन्य उत्पादनमा रागाका पाडा, खसी बोका, कुखुरा , दुध , दही तथा माछापालन व्यवसाय पनि यस वडामा रहेको छ ।

भौगोलिक रुपमा विकट रहेको यस वडाका करिब ६० प्रतिशत जनताको घरमा सडक सुविधा पुगेको छ । वडाका भित्री भागमा बसोवास गर्ने जनता पैदल नै खोलाको बाटो हुदै यात्रा गर्न गरेका छन् । त्यस्तै गरी करिब ८० प्रतिशत जनता विद्युत सेवा प्राप्त गरिरहेका छन् भने शुद्ध पिउने पानीबाट थोरै मात्र जनताले सुविधा लिइरहेका छन् ।

विगतको समयमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पछाडि रहेको यस वडामा हाल १ वटा माध्यमिक विद्यालय, २ वटा आधारभुत विद्यालय र १ वटा निजी लगानीमा संचालन भएको निजी वोर्डिङ स्कूल रहेको छ । महमाई स्वस्थ्य चौकीबाट हाल गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुका साथै वर्थिङ सेन्टर तथा ल्यावको समेत सुविधा उपलब्ध रहेको छ । वडाको केन्द्र अवस्थित वडा कार्यालयबाट प्रभावकारी सेवा प्रवाह हुनुका साथै वडाको भौतिक विकासमा महत्वपूर्ण योगदान दिईरहेको छ । वडाको शान्ती सुरक्षालाई व्यवस्थित गर्न वडा कार्यालय नजिकै महमाई प्रहरी चौकी रहेको छ जसले साविक महमाई क्षेत्रभरी सेवा प्रवाह गरिरहेको छ ।

यस वडा पर्यापर्यटनका क्षेत्रमा पनि समृद्ध रहेको छ । धार्मिक तथा पर्यटकीय स्थल वरक पोखरी, कपरसुका , जाँते ढुङ्गा, माई नदीको पुल तथा अन्य क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न सक्ने स्थानहरु हुन् । खेल पर्यटनको रुपमा कपरसुकामा अवस्थित खेल मैदानमा वर्षेनी महमाई स्तरीय नकआउट खेलकुद प्रतियोगिता संचालनले यस वडालाई अन्य जिल्लामा समेत परिचित गराउने गरेको छ ।

इलाम जिल्लाको कर्णालीको रुपमा हेरिने साविक महमाई गा.वि.स.त्यसमा पनि भौगोलिक विकटता रहेको यस वडामा पछिल्लो समयमा माई खोला, लक्ष्मी खोलामा पक्की पुल निर्माण भई यातायातमा केही सहजता आएको छ । राज्यको पुनर्संरचना पछि प्रदेश तथा स्थानीय तहबाट वार्षिक रुपमा करिव १ करोड रुपैया विकास वजेटको रुपमा आउन थालेपछि वडाको विकासले फड्को मार्न थालेको छ । वडाभएर जाने आत्मनन्द सडकको पक्की सडक निर्माण कार्यको शुरुवात सँगै यसका जनतामा आगामी दिनमा थप विकास हुने र वडाको मुहार फेरिने आशा जागेको छ । यस वडामा सडक यातायातको सहजता सँगै यस क्षेत्रमा भएको उत्पादनले बजार पाउन थालेको छ । यहाँ मानिसहरु आधुनिक तरिकाबाट खेती गर्ने , समुह तथा फर्म र सहकारीको माध्यमबाट व्यवसाय गरी जिवनस्तर उकास्न उद्यमी बन्न बाटो तर्फ लागेका छन् । संचारका माध्यम जस्तै रेडियो, टेलिभिजन, मोवायल तथा इन्टरनेटको सहज पहुँचका कारण जनताको सामाजिक सरसहन चेतनाको स्तरमा विकास भई आधुनिकता तर्फ उन्मुख रहेको पाईन्छ ।

बलिरहेको वत्तीको मुली पनि अध्याँरो हुन्छ भने झै यस वडाका केही मानिसहरुमा परम्परावादी सोच तथा अज्ञानताका कारण विभिन्न कुप्रथा तथा कुरितिहरु यथावत रहेको पाइन्छ । स्वास्थ्य तथा शिक्षाको सहज पहुच हुदाहुदै स्वास्थ्य सेवा नलिई धामीझाक्रीको विश्वास गरी केही मानिसहरु अकालमा मृत्यु वरण गरिरहेको पाईन्छ । वालविवाह तथा वहुविवाह यहाँको प्रमुख सामाजिक समस्या रहेको छ । अधिकांश मतवाली जातीको वसोबास भएकोजातिगत/संस्कृतिक मान्यता पाएकोले सामान्यतया अरुभन्दा बढी  मध्यपान, धुमपान गर्ने गरेको पाइन्छ । कृषि पेशा बाहेक अन्य रोजगारीको अवसर नभएका कारण वहुसंख्यक युवाहरु वेरोजगार रहेका छन् भने केही रोजगारको लागि विदेश तथा नेपालकै अन्य स्थानमा ज्याला मज्दुरीमा काम गरिरहेका छन् ।

यस वडामा भौगोलिक विकटताका कारण पूर्वाधार विकासमा समेत चुनौति रहेको छ । यहाँ अधिकाशं क्षेत्र वनजङ्गल भएकाले सडक  निर्माण गर्न कानुनी समस्या त छदैछ माटोको प्रकृतिको कारण समेत सडक विस्तारमा समस्या रहेको छ । साथै चुरे क्षेत्रमा पानीको मुहान भेट्न मुस्किल हुने गरेकाले वडाको सम्पूर्ण भागमा शुद्ध पिउने पानी पुर्याउन कठिनाई भइरहेको  छ ।

अन्त्यमा सुन्दर र शान्त यस वडामा विविध समस्या रहेता पनि स्थानीय सरकार तथा प्रदेश र संघीय सरकारको ध्यान खिच्न सफल यस वडाको विकासमा सबैको चासो रहेको पाउन सकिन्छ । कृषि तथा पर्यापर्यटनको माध्यमबाट वडालाई सम्मुनत बनाउनका लागि पर्याप्त स्रोत साधनहरु रहेकाले यस वडाका जनताको जिवन स्तरमा सकरात्मक परिवर्तन हुने सुनिश्चित छ । विकासका पहरेदारका रुपमा निर्वाचित जनप्रतिनिधिहरु तथा राष्ट्रिय राजनितिमा पहुच भएका जनताहरुको वसोबास भएकाले यस वडाले चाडौं मुहार फर्ने कुरामा दुई मत हुन सक्दैन ।

समावेश गाविस         : महमाई(५-७)

जनसंख्या                  :  ३२०३

क्षेत्रफल(वर्ग कि.मी.)   : २४.११

वडाध्यक्ष                   :  बुद्दी प्रसाद खनाल (९८५११९९९७८)

सचिव                       :   हरिप्रसाद रिजाल   (9849510911)        

का.स.                       :  संचमाया तामांग   (9817983843)

Ward Contact Number: 
9842712018